तीज नजिकिँदै जाँदा गाउँमा अलगै रौनक छाउँथ्यो। खेतबारीमा कोदो गोडमेलको व्यस्त समय हुन्थ्यो, तर त्यो थकानलाई मात दिने शक्ति हुन्थ्यो तीजको उत्साहमा। आमा, दिदीबहिनीहरू खेतमा घामको ताप र झरीको छ्याप खेप्दै कोदोको बोटसँगै तीजका गीतहरू पनि उमार्थे। “अहिले गोडमेल, साँझमा तीजको गीत” भन्ने जस्तो परम्परा थियो।
ती गीतहरू केवल शब्द र धुन मात्र थिएनन्, ती महिलाको हृदयको धड्कन थिए। कतिपय गीतमा आफ्नो माइतीको सम्झना पोखिएको हुन्थ्यो, कतिपयमा माइती गएर भेट हुने आशा। कहिले त वेदनामा आँसु टलपलाउँथे, कहिले उमंगमा हाँसो गुञ्जिन्थ्यो।
दर खाने अघिल्लो दिन गाउँका बाटोहरू अझै रमाइलो बन्थे। छोरी, दिदी, माइतीलाई लिन जाने रहरले महिलाको मन चञ्चल हुन्थ्यो। आकाशले झरी ओताइरहेको भए पनि छाताको आडमा, भिज्ने–सुक्ने पर्वाह नगरी दिदीलाई लिएर फर्कने त्यो यात्रा छुट्टै आनन्द हुन्थ्यो। बाटोमा भेट हुने अर्का समूहसँगको हाँसोठट्टा, गीतको टुक्का, र “भोलि दरमा भेटौँला” भन्ने आत्मीय संवाद—यी सबैले त्यो दिनलाई अति विशेष बनाउँथ्यो।
दिदी–बहिनीलाई घरमा ल्याएर, मीठा परिकार पकाएर, एकसाथ दर खाने त्यो क्षण तीजको सबैभन्दा आत्मीय पल थियो। परिकारहरूमा प्रेमको स्वाद हुन्थ्यो—पिँडालु, दही, चिउरा, सेल र ढकनी भरीको मीठो अचार। त्यो रात घरका आँगनमा गीतको स्वर गुन्जन्थे, जसमा बालिका देखि वृद्धासम्म सबैको सहभागिता हुन्थ्यो।
हाम्रो पुरुषप्रधान समाजमा तीजका गीतहरू महिलाको मौन पीडाको स्वर हुन्थे। खेतबारीमा, आँगनमा, वा पिंडीमा गाइने गीतहरूले वर्षौँदेखि दबिएका भावनालाई उजागर गर्थे। कहिले त मायाप्रेमका कुरा हुन्थे, कहिले दाजुभाइको मायामा गढिएका शब्दहरू। तर धेरै गीतमा श्रीमानको बेरुखी, सासु–ससुराको कठोरता, र महिलाको स्वतन्त्रताको चाहना खुला रूपमा पोखिन्थ्यो।
यी गीतहरूमा केवल दुःख मात्र होइन, एकता र सहानुभूतिको पनि शक्ति हुन्थ्यो। एउटा महिला अर्को महिलाको व्यथा गीतमार्फत बुझ्थीन्र र त्यसले सहारा दिने भाव पैदा गर्थ्यो।
तर, समयसँगै त्यो गाउँको तीज हराउँदै गयो। अहिले गाउँ पनि शहरको जस्तो बन्दै गएको छ। तीजका गीतको स्थानमा म्युजिक भिडियोको ठुम्का आयो, सामूहिक गोडमेलको परम्परा हरायो, दिदी लिन जाने त्यो भीड घट्यो।
शहरमा तीज अब फेसन शो, फोटो सेसन र स्टेज कार्यक्रममा सीमित हुन थालेको छ। गीतमा आधुनिक तालले पुरानो लोकधुनलाई छायामा पारिदिएको छ। अर्थतन्त्रको प्रभावले पनि तीजको स्वरूप बदलेको छ—पहिले सादगीमा रमाउने पर्व, अहिले खर्चिलो प्रदर्शनको अवसरजस्तो देखिन थालेको छ।
यद्यपि, मेरो मनमा अझै पनि त्यो पुरानो तीजको सुगन्ध बाँकी छ। खेतको माटोमा टेकेर गाएको गीतको मिठास, झरीमा भिज्दै दिदी लिन गएको त्यो उमंग, आँगनमा दाउराको भाँडोमा पकाएको दरको स्वाद—यी सबै सम्झनाले आज पनि हृदय तातो बनाउँछ।
समय र परिस्थितिले स्वरूप बदले पनि तीजको आत्मा भने उही छ—मिलन, प्रेम, र महिला सशक्तीकरणको भावना। पुरानो परम्परा र आधुनिकताको मेल गर्दै हामीले तीजलाई फेरि त्यसैको आत्मासँग जोड्न सक्यौँ भने, त्यो रमाइलो फेरि फर्कन सक्छ।
No comments:
Post a Comment