बृहत् स्वस्थानी व्रतकथा - भन्दछु । त्यसपछि विरणीका क्रमैले तेत्तीस कोटि कन्या जन्मे । ती सबैलाई दुवै दम्पतीले यथायोग्य रूपमा पालन गरे । अनि अगस्त्य मुनिले सोधे हे कुमार ! ती कन्याहरूको विवाह तेत्तीस कोटि देवतासँग कसरी भयो ? त्यो पनि सुन्ने इच्छा छ । त्यति सुनी कुमार आज्ञा गर्दछन्- 'हे अगस्त्य मुनि ! एक दिन स्वर्गका देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर, दश दिक्पाल जम्मा भई सभा गरेर भने- हाम्रा स्त्री छैनन्, दक्षप्रजापतिका तेत्तीस कोटि कन्या विवाह गरौं, तर कन्या माँग्न कसलाई पठाउने ? भनी मत मिलाई नारदजीलाई डाकी सबै कुरा बुझाएर “दक्षप्रजापतिकहाँ कन्या माँग्न जाऊ" भन्दा नारदजीले स्वीकार गरी दक्षप्रजापतिका घर गए । दक्षप्रजापतिले उचित शिष्टाचार गरेर 'के कामले पाल्नुभएको' भनी सोधे- आफूलाई देवताहरूले पठाएको कुरा सुनाई 'हे दक्ष ! तिम्रा तेत्तीस कोटि कन्या तेत्तीस कोटि - देवताहरूलाई देऊ' भने । नारदजीका त्यस्ता कुरा सुनी दक्षप्रजापति प्रसन्न भएर भने- 'हे नारद! तिमीले असल कुरा भन्यौ । म धन्य रहेछु । मेरा तेत्तीस कोटि कन्या तेत्तीस कोटि देवतालाई तिम्रो वचनले दिएँ । यौटी सतीदेवी मात्र दिनछैन, किनकि मेरा पुत्र छैनन्, सम्पत्तिको रक्षा को गर्ला ? अरू सबै कन्या तिमी जहिले भन्छौ र जस-जसलाई दिन भन्नेछौ उसै-उसैलाई दिनेछु । अब यहाँबाट गएर विवाहको दिन ठहराई पठाउन लगाऊ' भनी अनेक उपचारले पूजा गरे । तब नारदजी: दक्षसित बिदा माँगी सरासर स्वर्ग गए । नारद आएको देखी देवताहरूले 'तिमी गएको काम के भयो ? भनी सोधे । नारदजीले 'सतीदेवी-बाहेक अरू सबै कन्या दिन्छु' भने भन्ने कुरा सुनाए । अनि देवताहरूले 'धन्य नारद मुनि !' भन्दै प्रशंसा गरी विवाहको दिन ठहराई पठाए । त्यसपछि विवाहको सामग्री तयार गरी देवताहरू कन्यादान लिन भनी दक्षका घर पुगे । उनले देवताहरू आएको देखी आनन्द मान्दै मंगलयात्रा गर्दै आफ्नू मर्यादाले सतीदेवी-बाहेक तेत्तीस कोटि कन्या नारदजीको आज्ञानुसार तेत्तीस कोटि देवतालाई कन्यादान दिए । देवताहरू कन्यादान पाई हर्षपूर्वक आफाफ्ना स्त्री लिई आफाफ्ना आश्रममा गए । यो वृत्तान्त कैलास पर्वतमा रहेका शिवजीले थाहा पाएर देवताहरूले मलाई बाहेक पारी, एक वचन पनि नसोधी आफू आफूले कन्यादान लिएछन् । कैलासको स्वामी भएर पनि मेरा स्त्री छैनन् । अब मलाई कसले कन्या देला ! भनी ध्यान दृष्टिले विचार गरेर - हेर्दा दक्षकी तेत्तीस कोटि कन्यामा सबभन्दा जेठी बाँकी नै रहिछन् । देवताहरूले मेरो मर्यादा राखेकै रहेछन् । अब ती कन्या माँग्न कसलाई पठाऊँ? आफै जान्छु भनी दक्षका घर गए । दक्षले महादेव आउन लागेको परैबाट देखी विरणीसित भने- हे स्त्री ! त्यो आउन लागेको महादेव हो, के भन्न आयो ? भनी कुरा गर्दागर्दै महादेव घरमुनि पुगेर बोलाउनुभयो । अनि दक्षले झ्यालबाट हेरेर 'माथि आइज' भनी डाके र सोधे- हे महादेव ! आज तँ मेरा घरमा के कामले आइस् ? भनी हेलाँ गरेर बोले । अनि महादेव भन्नुहुन्छ- 'हे दक्षप्रजा पति ! तिम्रो घर आउने मेरो अरू केही प्रयोजन थिएन । तिमीले कृपा गर्नाले तेत्तीस कोटि देवताले कन्यादान पाएर उद्धार भए । अब सतीदेवी रहेकी रहिछन्, म योग्य पनि छु, ती कन्या मलाई कृपा गर ।' महादेवको यस्तो वचन सुन्नासाथ दक्ष प्रजापति अत्यन्त रिसाई भने-' हे पापिष्ठ महा - देव ! मेरी कन्या सतीदेवी तेरो योग्य कसरी होली ? तँ कस्तो भने मशानको खरानी घसी, सर्पको गहना लगाई, बाघको छाला ओढेर डमरु त्रिशूल लिई, बूढ़ो साँढेमा चढेर हिंड्ने, विष भाङ धतूरो खाई भूत-प्रेत नचाई मशानमा बस्ने, दिगम्बर, देख्दैमा पनि घिन लाग्ने, यस्तो तैंले मेरै मुख्याञ्जी आई यस्तो अयोग्य कुरा गरिस् । जा, मेरो घरमा नबस्' भनी पाखुरामा समाती धपाए। महादेवले त्यस्तो किसिमसित दक्षले क्षुद्रवचनद्वारा निन्दा गरेको सुनी साह्रै नै चित्त दुखाई बाहिर आएर 'नदिने भए दिन्नँ भने भइजान्थ्यो, यस्तो निन्दा गर्ने कामै थिएन । अब कहाँ जाऊँ ? के गरूँ ? ती कन्या कसले मलाई पारिदेला ?' भन्ने तर्क वितर्क गर्दै विष्णुको - वैकुण्ठधाममा पुग्नुभयो । विष्णुले शंकरजी आएको देखी हत्तपत्त उठेर उच्चासनमा बसाली- 'के कामले आज परिश्रम गर्नुभयो ? भनी सोधे । अनि महादेवले आफू दक्षका घर गएको र उनले दुर्वाच्य बोली अपमान गरेको सबै कुरा सुनाइसकेपछि 'हे विष्णु ! मेरा स्त्री छैनन्, त्यसैले घर पनि छैन' यही कुरा गर्न आएको हुँ । अब जसरी ती कन्या मेरी हुनेछन् त्यही काम गर' भन्नुभयो । महादेवको वचन सुनी विष्णुले भन्नुभयो- 'हे ईश्वर ! यो काम म पार लगाउँला । हजुरले सन्देह गर्नु पर्दैन ! म अहिल्यै दक्षको घर जान्छु। म फर्केर नआउञ्जेल हजुर यहीं राज गर्नुहोला' भनी महादेवलाई पर्खाई आफू दक्षप्रजापतिको घर जानुभयो । दक्षले विष्णु आएको देखी माथि डाकेर आदरपूर्वक बसाली- 'हे विष्णु ! आज मेरो घर किन पवित्र पार्नुभयो ? आज्ञा हवस्' भनी सोधेपछि विष्णुले आज्ञा गर्नुभयो- 'हे दक्षप्रजापति ! केही माँग्न आएको हुँ, दिने भए मात्र माँग्दछु ।' त्यति सुन्नासाथ दक्षले भने- 'हे विष्णु ! तिमीले माँगेपछि जे वस्तु भए पनि दिनेछु । के चाहियो, आज्ञा गर !' त्यति सुनी विष्णु 'हे दक्षप्रजापति ! म वैकुण्ठको अधिपति भएर पनि मेरा स्त्री छैनन् । तिमीले कृपा गर्नाले तेत्तीस कोटि देवता कन्यादान पाई उद्धार भए। अब सतीदेवी छन्, ती मलाई कृपा गर ।' विष्णुको यस्ता वचन सुनी दक्षले चिन्तित हुँदै भने- 'हे विष्णु ! मेरा पुत्र नहुनाले सम्पत्तिको रक्षा गर्न राखेको, दिनु त उचित थिएन, तर वाचा गरेको हुनाले दिन कर लाग्यो, ती कन्या तिम्री भइन् । अब सुदिन ठहराई कन्यादान लेऊ ।' यति दक्षको वचन सुनी विष्णुले 'हुन्छ' भनी बैकुण्ठ जानुभयो । अनि विष्णु आएको देखेर महादेवले सोध्नुभयो- 'हे विष्णु ! तिमी गएको काम कस्तो भयो ?' अनि विष्णुले उत्तर दिए 'हे ईश्वर ! म गएको काम पुग्ला जस्तो त भयो, • तर आफैँलाई भनी माँगेर आएको छु । हजूर वृद्ध संन्यासीको रूप धारण गरी कन्यादान दिने ठाउँमा आई भिक्षा माँग्नू र 'मलाई भिक्षा नदिई कन्यादान दिए-लिने दिने दुवैलाई श्राप दिनेछु' - भन्नुहोला । अनि म 'हे संन्यासी ! मेरो लग्न बिल लाग्यो, कन्यादान भइसकेपछि भिक्षा दिनेछु, नसराप, बरु यहाँ आएर बस' भनी आफू बसेकै छेउमा बसालिराख्नेछु र दक्षले कन्यादान दिंदा उसका आँखा छली सतीदेवीको हात हजुरको हातमा पारिदिनेछु । यस दिन, यो बेला आउनुहोला' भनी दक्षसित भएको सबै विवरण एक-एक गरी सुनाउनुभयो । विष्णुको त्यस्तो कुरा सुनेर प्रसन्न भएका महादेव 'अवश्य आउनेछु' भनी गद्गद चित्तले कैलासमा जानुभयो ।
।। इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमार अगस्त्यसंवादे श्रीस्वस्थानी परमेश्वर्या व्रतकथायां दक्षकन्याविवाहवर्णनं नाम तृतीयोऽध्यायः ।।३।।
No comments:
Post a Comment