श्री स्वस्थानी व्रत कथा भाग - १ : Swasthani wrata katha Part-1 - DR Kaphle

Breaking

Monday, January 17, 2022

श्री स्वस्थानी व्रत कथा भाग - १ : Swasthani wrata katha Part-1

 

प्रथम अध्याय : 

पूर्वकालमा समस्त मुनिहरूमा सबै प्रकारले ख्याति प्राप्त गरेका अगस्त्य मुनि आफ्नू आश्रममा तपमा लीन थिए । एक दिन मयूरमा चढेर स्कन्द कुमार त्यहीं पाल्नुभयो । अगस्त्य मुनिले देखेर सम्मान-साथ आसनमा बसाली स्वागत सत्कार गरिसकेपछि नम्र वाणीले सोधे- हे कुमार ! यो संसार कसरी सृष्टि भयो ? यसको विषयमा जान्न इच्छा भयो, म उपर कृपा गरी आज्ञा भए आफूलाई धन्य सम्झने थिएँ । अगस्त्यको प्रश्न सुनेर कुमारजी भन्नुहुन्छ- हे मुने! तिमी एकचित्त भई सुन, म तिमीलाई सृष्टिको क्रम सुनाउँछु- यो

सृष्टि प्रारम्भ हुँदा पहिले परब्रह्म परमात्माको इच्छा स्वयं स्फुरण हुनासाथ त्यही इच्छाले प्रेरित समस्त गुणले युक्त ब्रह्मा, विष्णु र शिव प्रकट भए । तिनका शक्ति स्वरूप त्रिगुणले युक्त माया वा - प्रकृति उत्पन्न भइन् । ती त्रिगुणात्मिका मायालाई जिल वा वश पार्न अत्यन्त कठिन छ । उनै मायाभन्दा पर प्रतिष्ठायुक्त 'निवृत्ति पद' छ । त्योभन्दा पर शान्ति पद र उभन्दा पनि पर शान्त्यतीत पद छ । त्यसपछि विद्या पद छ र विद्याभन्दा पनि पर निवृत्ति पद छ । जान्नेहरू त्यसैलाई मोक्ष पद पनि भन्दछन् । यो संक्षेपमा भयो । अलि विस्तारले सृष्टिको क्रम बुझाउन र बुझ्न पनि निकै कठिन छ । संक्षेपमा भनेको कारण पनि मुख्य यही हो । प्रलय र सृष्टिको क्रम बेग्लाबेग्लै छ । एक नियमले सृष्टि हुन्छ र अर्को नियमले प्रलय हुन्छ । जो त्रिगुणात्मिका माया छन् ती शान्त्यतीत, शान्ति, विद्या, प्रतिष्ठा र निवृत्ति आदि पदमा रहन सक्तिनन् । मायाभन्दा पनि टाढा रहने जो अव्यक्त छ, त्यो आत्मामा विद्यमान छ । जीव अज्ञानी र प्रकृति जड़ हुनाले समस्त परमाणु अचेतन छन् । कारणबिना कुनै कार्य हुन सक्तैन । यसै कारण जगत्को अधिष्ठाता परमात्माको इच्छा- बिना कुनै कार्य पनि हुन सक्तैन । यो कुरा वेद र शास्त्रले पनि स्वीकारेका छन्, तापनि वेदान्त आदि शास्त्रमा सबैको गति नपुग्ने हुनाले सबैलाई तुरुन्त निश्चय हुन सक्तैन । त्यसैकारण जन्म-मरणरूप बन्धन नछुटेर त्यसैको सुख-दुःख केवल अनुभव गर्ने जीवद्वारा यो संसारको क्रम चलिरहेको छ । यो क्रम कल्प कल्पको भेदले भिन्न-भिन्न झैँ देखिने हुँदा अनेकौं कल्पमध्ये केवल पद्मकल्पको मात्र वर्णन गर्दछु ।


ब्रह्मा, विष्णु, शिव एक हुन् । यिनमा सानो र ठूलो भन्ने भेद छैन । हे मुने! सृष्टि गर्ने चतुर्मुख ब्रह्मा, पालन गर्ने विष्णु, संहार गर्ने रुद्र हुन् । विष्णु र शिवका आयुको अवधि वा प्रमाण छैन । ब्रह्माको सय वर्ष परमायु कहिन्छ । उनको प्रथम पचास वर्षलाई परार्ध भन्दछन् । सय वर्ष पुगेपछि उनको पनि नाश हुन्छ, वा प्रलय हुन्छ । प्रलय भएपछि समस्त संसार र यसमा रहेका वस्तुहरू केही रहन्न । अनि ईश्वरद्वारा अर्को सृष्टिको क्रम आरम्भ हुन्छ । त्यो नयाँ सृष्टि पनि अगाडि जुन क्रमले चलेको थियो सोही प्रकारले चल्न थाल्दछ । प्रलय चाहिं अनेक प्रकारले हुन्छ । ब्रह्माको घर गृहस्थी सबै छ, उनले पनि - खानु- सुत्नुपर्दछ । उनी बस्ने लोकको नाम सत्यलोक हो । प्रातः काल हुँदा उनले सृष्टि गर्दछन् । उनको एक दिनमै सत्य, त्रेता, द्वापर, कलि चार युग बहूत्तरपल्ट घुमिसक्छन् । रात परेपछि प्रलय गर्दछन् । यही क्रमले जब ब्रह्माको सय वर्ष पुग्दछ तब महाप्रलय हुन्छ । त्यस महाप्रलयपछि फेरि पहिले जस्तै रजोगुणले युक्त ब्रह्मा उत्पन्न - गराई अहंकार र पञ्चमहाभूत, ज्ञानेन्द्रिय, कर्मेन्द्रिय, पञ्चतन्मात्रा, शब्द, रूप, रस, गन्धले युक्त यौटा अण्ड उत्पन्न हुन्छ वा बन्दछ । त्यो अण्ड ब्रह्ममय 3 हुनाले त्यसको नाम 'ब्रह्माण्ड' रहेको हो । त्यही अण्ड फुटेर दुई भाग भएपछि एक भागको प्रकृति र अर्को भागको पुरुष बन्दछ । त्यसैबाट प्रथम सृष्टि चतुर्मुख ब्रह्मा भए, पालन गर्ने अनन्तकोटि ● ब्रह्माण्डका स्वामी विष्णु भए, संहार गर्ने महारुद्र भए । यिनैले यो सृष्टिको कार्य निर्बाध गतिले गर्दछन् । जसको इच्छाले त्यो अण्डको उत्पत्ति हुन्छ, त्यस परब्रह्म परमात्मालाई त्रिगुण, गुणातीत, चतुर्व्यूह, अनादि, अजन्मा, हिरण्यगर्भ, प्रजापति आदि भन्दछन् । सुमेरु पर्वत समुद्रको बीचमा, समस्त जीवहरू गर्भाशयमा बालक रहेजस्तै रहेका छन् । सूर्य, चन्द्र, ग्रह, नक्षत्र आदि पनि त्यही सुमेरुको चारैतिर स्थित छन् । निराकार आकाश पनि त्रिगुणात्मिका माया र पञ्चमहाभूतले बेरिएझैँ भई आकारवान् अर्थात् एक रूपबाट अर्को रूप देखिइन्छ, तर त्यस आकाशलाई राम्ररी विचार गर्दा आदि, मध्य, अन्त्य नभएको अनादि, अनन्त परमेश्वरको लीला मात्र हो । यो संसार नै भ्रान्तिको रूप हो किनकि उनै ईश्वरको इच्छाले सृष्टि स्थिति-संहार हुन्छ । धागोमा दाना उनिएझैँ यो संसार परब्रह्ममा उनिएको छ । अनन्तकोटि ब्रह्माण्डको गणना गर्न सकिन्न । जति ब्रह्माण्ड छन् उति नै ब्रह्मा, विष्णु, शिव, चन्द्र, सूर्य, इन्द्र, दिक्पालहरू भिन्न-भिन्न छन् । जस्तै स्वप्नमा देखिएका अनकौं सुख-दुःखको अनुभव जागा हुनासाथ केही पनि रहन्न, त्यस्तै यो मिथ्या, अनित्य संसारको सुख-दुःख पनि स्वप्न जस्तै छ । सुख दुःख त मनले मात्र अनुभव गर्दछ । त्यसको भागी जुन मन हो, त्यसलाई आफ्नो वशमा राख्नु नै ईश्वर प्राप्तिको मुख्य बाटो हो भन्ने कुरा पण्डितले राम्ररी बुझ्नुपर्दछ । हे मुने ! तिमी पनि एकाग्र मनले तपस्या गर, अवश्य सिद्धि मिल्नेछ । मैले यो सृष्टिको क्रम संक्षेपमा सुनाएँ । अब दोस्रो अध्यायमा पद्मकल्पको वर्णन गर्नेछु, ध्यानपूर्वक सुन !

।। इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमार अगस्त्यसंवादे श्रीस्वस्थानी परमेश्वर्या व्रतकथायां सृष्टिक्रमवर्णनं नाम प्रथमोऽध्यायः ।।१।।

No comments:

Post a Comment