आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ(IPO) खुल्ला गर्दै,कहिले दिने आवेदन ? पुरा जानकारी - IPO - DR Kaphle

Breaking

Friday, January 20, 2023

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ(IPO) खुल्ला गर्दै,कहिले दिने आवेदन ? पुरा जानकारी - IPO


आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुला गर्ने भएको हो ।

जारी पुँजीअन्तर्गत रु. छ करोड २३ लाख ३८ हजारको ३२ दशमलव ६२५ प्रतिशत अर्थात् रु. दुई करोड तीन लाख ३८ हजार बराबरको साधारण शेयर निष्कासन गर्न लागिएको हो । कम्पनीले प्रतिशेयर रु. एक सय दरले दुई लाख तीन हजार तीन सय ८० कित्ता साधारण शेयर खुल्ला गरिने जनाएको छ ।

जसमा २० हजार तीन सय ३८ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीलाई, तीन हजार एक सय १७ कित्ता शेयर कर्मचारीलाई र १० हजार एक सय ७० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी एक लाख ६९ हजार सात सय ५५ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कहिले दिने आवेदन ?

सार्वजनिक आह्वानपत्रानुसार वैदेशिक रोजगारीमा रहेका नेपालीले यही माघ १६ देखि आगामी फागुन १ गतेभित्र आवेदन दिनुपर्नेछ । त्यस्तै, सर्वसाधारणले आगामी फागुन ११ गतेदेखि १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यो अवधिमा मागबमोजिम आवेदन नपरे ढिलोमा आगामी फागुन २५ सम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ । लगानीकर्ताले शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट तथा अनलाइनमा ‘मेरो शेयर’ मार्फत शेयर खरिदको आवेदन दिन सक्नेछन् । शेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले गरेको छ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी बी प्लस इस्युअर’ रेटिङ्ग प्रदान गरेको खबर गोरखापत्रमा छ ।

No comments:

Post a Comment